नेपालीमा लेख्ने सूर…

किन हो आज अचानक मलाई नेपालीमा लेख्ने सूर चलेको छ। हुन पनि नेपालीमा केही पनि नलेखेको धेरै भइसक्यो। मैले र्‍यान्डम् जटिङ्स् लाई पुनर्जीवित पारेदेखि नेपालीमा एउटा पनि लेख लेखेको छैन खासमा! कहिलेकाँही नेपालीमै मात्र ब्लग राखौँ जस्तो पनि लाग्छ – तर त्यसो गर्दा अलिअलि भएका पाठकहरू पनि घट्ने पक्का छ। त्यसैले नेपालीमै मात्र लेख्ने सपना देख्न चाँहि छोडिसकेको छु मैले। हुन त सपना नै अंग्रेजीमा देख्न थालेपनि के नै गर्न सकिन्छ र? सकेसम्म धेरै भाषामा लेख्नु पर्छ जस्तो भने लाग्न थालेको छ आजकल चाँहि। एस बी श्रेष्ठको तीनभाषे ब्लग देखेर पनि होला (चौभाषे वा पंचभाषे पनि हुन बेरछैन वहाँको ब्लग, तर मैले भने तीन भाषाका लेखहरू मात्र देखेको छु मेरा अहिलेसम्मका भ्रमणहरूमा)। नेपाली लेख्ने कुरा गर्दा मलाई अहिले आफू परिवर्तन भएको देख्दा अचम्म लाग्छ। नेपालमा विद्यालय हाताभित्र, अनि विशेषगरी शिक्षकहरूसँग (नेपाली गुरूहरू बाहेक!) अंग्रेजीमामात्र वोल्नुपर्छ भन्ने नियम खुलेआम तोड्ने म अहिले अंग्रेजीमा मात्र लेख्ने, अंग्रेजीमै सोच्ने र सपना देख्ने हुनुपुगेको छु! साँच्चै नै म नेपालमा हुँदा निकै राष्ट्रवादी थिएँजस्तो लाग्छ आफूलाई अहिले। त्यसैले पनि होला मेरा विद्यालयका शिक्षकहरूले म विदेशीन लाग्दा भनेका थिए “यो केटो विदेशमा धेरै टिक्न सक्दैन, पढाई सक्काउनासाथ नेपाल फर्किहाल्छ”। साँचो हुन सक्छ वहाँहरूको भविष्यवाणी – मेलै अझै पढाई सकाएको छैन, अनि सकाउनलाई अर्को दुई-तीन वर्ष लाग्ने निश्चित छ। ममा भएको (पक्कै पनि छ आफूमा कतै भन्ने कल्पना गर्दैछु म) राष्ट्रवाद यी दुई-तीन वर्षमा पुनर्जीवित भइहाल्छ कि?

अब यी गन्थनलाई विश्राम दिएर नेपालीमा लेख्ने सूर किन आयो भन्नेतिर लागौं कि? नेपालीमा लेख्ने सूर चल्ने रोग नौलो चाँहि पक्कै हैन। त्यसको एक प्रमाण पेस गर्दैछु यहाँ पहिले, त्यसपछि केलाउँला यस बिषयलाई फेरि। तलको उद्धरण मेरो भ्यानकूभर बसाँईका अन्तिम दिनहरूमा लेखेका दैनिकीबाट निकालेको हुँ।

गएको विहीवार मात्र मैले मेरो स्नातकोत्तर तहको पढाई समाप्त गर्नको लागि आवश्यक पर्ने शोधपत्रको प्रथम खेस्रा सकाई मेरो सुपरीक्षकलाई बुझाएँ। यो नै मेरो अन्तिम काम थियो स्नातकोत्तर तहको पढाईको, त्यसैले पनि म अलि हल्का-फुल्का मनमा थिएँ। के गरूँ, कसो गरूँ जस्तो भईराखेको थियो मलाई। त्यसैबेला पढाईको कुरा बाहेक केही अन्य कुराबारेमा लेख्नु पर्छ कि जस्तो लाग्यो – अनि सोचेँ एक निबन्ध लेख्न थाल्नु पर्‍यो, त्यो पनि नेपालीमा। नेपालीमा केही पनि नलेखेको धेरै समय भईसकेको थियो। आजकल सोच्ने प्रकृया पनि अंग्रेजीमा हुने भएकाले जे कुरा पनि अंग्रेजीमै लेख्न सजिलो लाग्ने भएछ। त्यसैले पनि नेपाली लेखनलाई निरन्तरता दिनको लागि नेपालीमा नै केही लेख्ने निर्णय गरेको हुँ। अब लेख्ने निर्णय त गरेँ तर के लेख्ने, दिमाग सृजनशील नभएको बर्षौं भएको भान भयो मलाई। कहिलेकाँहि कविता नलेखेको त होइन यो अवधिमा, तर कविताहरू पनि धेरैजसो अंग्रेजीमा नै लेखियो। फेरि अर्को कुरा कविता लेख्नलाई रूचिले भन्दापनि धेरै मनोभावले बढी प्रभाव पार्ने रहेछ, जुनसुकै बेला कविता लेखौं भनेर नसकिने। मलाई अझै याद छ मैले पहिलो कविता लेखेको – वीरेन्द्र सैनिक महाविद्यालयमा कक्षा ११ मा पढ्दा। विद्यालयको वार्षिक मूखपत्रको सम्पादक समूहमा थिएँ म, साथसाथै गुरूहरूको नजरमा नेपाली भाषाको एक राम्रो विद्यार्थी। त्यसैले पनि केही लेख्नलाई दवाव थियो मलाई। अब कुनै विषयबस्तुमा लामो निबन्ध लेख्नु उपयुक्त हुनेथिएन, अन्य धेरै विद्यार्थीहरूका रचनाहरूलाई पनि मूखपत्रमा समाहित गर्नुपर्ने भएकाले। त्यसैले मैले आधा पन्ना मात्र खर्चहुनेगरी केही रच्नुपर्ने भयो। लागें म कविता लेख्नतिर – सकिनसकि। अन्त्यमा मैले त्यही कविता लेख्न गरेको मानसिक कसरतको बारेमा लेखें एउटा कविता।

बल्ल बल्ल लेखें मैले आज एउटा कविता
गाह्रो भयो लेख्न यो, जस्तो छुट्याउन बालुवा र कनिका

मेरो त्यो कविताका हरफहरू यसरी नै सुरु भएका थिए। अहिले पनि केही लेखौं भन्ने विचार आउनासाथ मलाई त्यो कविता लेख्दाको याद आयो। मैले त्यस कवितामा कविता लेख्न खोज्दाको दवाव तथा त्यसबेलाको मनोभावको वर्णन गरेको थिएँ। त्यसरी मनोभावको विश्लेषण, अनि वर्णन गरी लेख्दा लेखनकार्य सहज लागेको थियो। त्यसैले पनि अहिले मनोभावनात्मक लेखबाट लेखनकार्यको सुरुवात गर्न मन लाग्यो – एक त यसबाट आत्म-विवेचना गर्ने अवसर हुने, खासगरि मेरो लेखन क्षमताको; साथसाथै केही लेखिने पनि।
(एक हप्ता पछि)
मनोभावको कुरा गर्दा पो याद आयो, मैले यो लेख (वा निबन्ध वा प्रबन्ध जे भनौं) लेख्न सुरु गरेको धेरै दिन भईसकेछ – आज पूरै एकहप्ता। लेख्न सुरू गर्दाको र अहिलेको मनोभावमा पक्कै पनि परिवर्तन आइसकेको छ। त्यतिबेला केही लेखौं भन्ने जुन दृढ इच्छा थियो, सायद अहिले त्यत्तिकै दृढ इच्छा छैन होला – मलाई चाँहि त्यस्तै भान भइरहेछ। तैपनि साधारणतया भन्नुपर्दा लेखनको इच्छा हराएको भने छैन। एक हप्ता अगाडि जुन विषयबस्तुमा लेख्थेँ होला, आज त्यही विषयबस्तुमा चाँहि पक्कै लेखिदैन। तर यसले के असर पार्छ र? मेरो यो लेखको शीर्षक नै “शीर्षकबिनाको निबन्ध” भएपछि! मेरो यस लेखनको प्रमूख उदेश्य नै केही लेख्नु थियो – केका बारेमा लेख्नु, त्यो त सहायक महत्वको मात्रै। माथि भनेझैँ मेरो निबन्ध लेखन प्रतियोगिताहरूमा मात्र सीमित थियो – भन्नुको मतलव २-३ घण्टामा एउटा विषयबस्तुमा केही लेखिसक्नु पर्थ्यो। तर आज यसरी एक-दुई अनुच्छेद गर्दै केही लेख्दा एक अर्कै किसिमको मज्जाको अनुभव हुँदैछ। धेरै समय (दिन) लगाएर केही लेख्दा मनोभाव सँगसँगै विषयबस्तुमा पनि परिवर्तन आउने, अनि यसले लेखनलाई पनि अलि चाखलाग्दो बनाउने – सधैँ भने होइन तर। नत्र भने त दिनदिनै केही लेख्थेँ होला नि; आज दुई दिनमा यो लेख खोल्दैछु। अब एक हप्ता अगाडि जे सोचेर लेख्न थालेको थिएँ अहिले त्यही कुरा सोचिराखेको छु भन्दा झुट बोलिरहेको हुन्छु म। तर लेखनकार्यबाट जुन आनन्द लिन खोज्दैथिएँ त्यतिबेला, आजपनि उसैगरी आनन्द लिन खोज्दैछु। मनोभावहरूलाई अक्षरहरूमा उतार्न खोज्दैछु।

मनोभावकै कुरा गर्दा मैले यी सात-आठ दिनको अन्तरालमा अनुभव गरेको अर्को कुरा के हो भने मनोभाव, अनि सोचलाई मौसमले निकै प्रभाव पर्ने रहेछ। यो लेख लेख्न सुरू गर्दा यहाँ (भ्यानकूभरमा) पानी परिरहेको थियो, दिनहरू पट्यारलाग्दा थिए, अनि त्यही अनुसार मनका भाव र सोचहरू अलि escapist थिए। भन्नुको मतलव वर्तमानबाट भाग्न खोज्दै थिए मेरा सोचहरू – त्यसैले होला मैले लेखको सुरुवात विगतका राम्रा अवसरहरूबाट गरेको। लेख्ने सोचाइ, अनि लेखनकार्यको सुरुवात नै वर्तमानबाट भाग्नलाई भएको जस्तो लाग्दैछ अहिले। तर अहिले एक हप्तापछि यहाँको मौसम एकदमै अर्कै छ – घाम लागिरहेको छ बाहिर, अनि तापक्रम पनि अलि ज्यादा नै छ (कुनैबेला त अलि असहज नै हुने गरी!)। घाममा बाहिर हिँड्न, अनि पार्कहरूतिर घाम तापेर बस्नको मज्जाले अरुहरूलाई झैं मलाई पनि तानिरहेछ। दुई‍-तीन दिनदेखि त म विश्वविद्यालयबाट घर फर्किंदा पनि बस चढ्नुको सट्टा हिंडेरै फर्किने गरेको छु। बाहिरको राम्रो मौसमको आनन्द लिन पनि पाइने, साथमा शरीरलाई कसरत पनि हुने। र एक हप्ता अगाडिको escapist सोच अहिले मेरो मनमा छैन। बर्तमान मै हराएको छु म। तर वर्तमान बाहेक केही नसोची बसेको भने होइन – आजकल भविष्यको बारेमा पो सोच्न थालेको छु म।

“आजकल भविष्यको वारेमा पो सोच्न थालेको छु म”

अहिले म त्यतिबेलाको “भविष्यमा” छु। आफ्नो पढाईलाई नै निरन्तरता दिन्छु भन्ने सोचेको थिएँ कि थिइन ती शब्दहरू लेख्दा यकिन गरी भन्न सक्दिन तर मैले कहिले नै योजना गरेर आफ्नो जीन्दगीलाई मोडेको छु र? दिन-दिनको जीवन जिउनमै व्यस्त छु म, कुनै योजना बिना। यहाँ विद्यावारिधी गर्ने निर्णय पनि स्नातकोत्तर सकाएको एक-दुई हप्तामै गरेको हुँ मैले – म त नेपाल (वा अन्य कुनै बिकासोन्मुख देश)मा गएर एक-दुई बर्ष काम गर्नुपर्ला भन्ने सोचमा थिएँ। तर अचानक सबै कुरा चकनाचुर भयो – मैले त्यस्ता योजनाको त कुरै छाडौं, त्यस्तो सोचपनि नगरेको भए हुनेरहेछ जस्तो लाग्यो पछि त!

अँ, अनि नेपालीमा लेख्ने सूरचाँहि कताबाट आयो त? नेपाली ब्लगरहरूका नेपालीमा लेखिएका लेखहरू पढेर पनि होला केही हदसम्म त। तर नेपालीमा कहिलेकाँही लेख्दै गर्नुपर्छ भन्ने चाँहि लागिरहन्छ मनमा। खालि अल्छिपनालाई पराजित गर्न नसकेर नै होला नेपालीमा केही नलेखेको चाँहि। आज अचानक म मेरो गतवर्षको दैनिकी (नाममात्रको दैनिकी हो खासमा, दिनदिनै लेखेको देख्नै मुश्किल छ मेरो दैनिकीमा, अनि यो पनि कम्प्यूटरमै छ – इलेक्ट्रोनिक दैनिकी!) हेर्न पुगेछु, अनि केही लेखौं नेपालीमा भन्ने लाग्यो अनि सुरु गरी हालेको। यस लेखनको आधाभन्दा बढी त त्यसै “नाममात्रको दैनिकी” बाट नै उद्धरित भई हाल्यो नि। नेपालीमा लेख्ने ईच्छा मेटियो मेरो – सहजै!! अब यसलाई कत्तिको निरन्तरता दिन सक्छु, त्यो त हेर्न बाँकी नै छ। योजनाबिहीन जीवनमा नेपालीमा नियमित रुपमा ब्लगमा केही लेख्ने योजना बनाउँन चाहन्न म। पछि पछुताउनु भन्दा अहिलेनै सतर्क भई वाचा नगर्नु नै ठीक। होइन त?

4 thoughts on “नेपालीमा लेख्ने सूर…

  1. Dear Maheshjee,
    Thanks for mentioning me. Yeah, we need to write in Nepali, our national language. Like you I too used to write in English. But, it changed suddenly…

    SBS

  2. Hey, any chance of a Nepali-to-English translatioin service online? I checked about and no luck. How could there not be a market for this?

    Mr. Witt

  3. Hey Mr Witt, I don’t think there is an online translation service is available for Nepali > English. Sorry, if my entry in Nepali has annoyed you a bit! But I think it will probably just be once-in-a-fullmoon that I write an entry in Nepali. So, you won’t miss much in terms of what I write 🙂

  4. नेपाली लेखाईमा आफ्नो मिठास पाउछु म त।
    जतिकुरा गरेपनि हाम्रो भनेको हाम्रै हो।

Comments are closed.