एक शिक्षकको सम्झना, एउटा लघुकथा बाट…

घरमा बसेर काम गर्न सकिंदैन मन लाग्दैन भनेर बिहानैको ठण्डीमा अफिस आएको म। तर अफिसमा पनि अल्छी लागिरहेछ! िबहान घरबाट निस्कँदा हिउँ पर्न थालेको थियो तर खासै परेन। चिसो हावा भने चलिनै रहेको थियो, र अझै पनि चलिरहेछ। अहिले भने अफिसको न्यानोले होला मलाई अल्छी बनाएको। अनि धेरै दिनपछि आज ब्लगमा केही लेख्ने सुर चलिरहेछ। के लेखूँ भनेर त्यति सोच्नु परेको पनि छैन खासमा – घेरै दिनदेखि मलाई मेरो विद्यालयको एक शिक्षकले करीब १२ वर्षजति अगाडि भनेको लघुकथा याद आइरहेछ। त्यसैलाई यहाँ उतारौं जस्तो लाग्यो अनि सुरु गरेको यो ब्लग पोष्ट! कथा यसप्रकार छ।

रोशन एक सिपाही, देशको रक्षक, आफ्नो परिवारको पालनहार। धेरै वर्षपछि यसपालिको दसैमा ऊ घर आउन पाएको। ऊसकी धर्मपत्नी उषाको हर्षको सीमा नै छैन यो दसैंमा। उनीहरूको दुईवर्षे छोरो उज्ज्वल पनि आफ्ना आमाबाबुको खुशीमा खुशी छ। यसपालिको दसैंमा उसले नयाँ लुगामात्र होइन, आफ्नो बाबाको प्यार पनि पाएको छ।

खुशीका दिनहरू बितेको कसलाई याद हुन्छ र? थाहै नपाई दसै, र दसैबिदा सकिसकेछ। आज रोशन फर्किंदैछ आफ्नो व्यारेकमा। गोंगबुबाट बस हिंड्दैछ बिहान ११ बजे। उसले पर्दैन भन्दाभन्दै पनि उषा उसलाई बिधाई गर्न बसपार्क सम्म आएकी छिन्, दुइवर्षे उज्ज्वललाई साथ लिएर।

बस हिड्ने बेला हुनै आँट्यो। इन्जिनको आवाज सुरु भइसक्यो। उषा र रोशन एक-अर्काको आलिङ्गनमा बाँघिइएका छन् भने उज्ज्वल उनीहरूकै वरिपरि दौडिरहेछ, खेलिरहेछ। यस्तो लाग्छ उषा र रोशनलाई संसारमा केही कुराको पनि चिन्ता छैन अहिले – एकअर्काको साथमै उनीहरूको संसारको सुरु र अन्त्य भएझैं भान हुन्छ। बसका अन्य यात्रुहरू सबै आ-आफ्ना सीटमा बसिसके, रोशनलाई नै कुरिरहेछ बस। खलासिको पटकपटकको आग्रहपछि रोशन उषालाई छोडी बसतिर लाग्छ, अन्तिमपटक उनको आँखाको आँशु पुछिदिएर। बस आफ्नो गन्तब्यतिर हिँड्छ, अनि उषा बस देखिएसम्म त्यसैतिर हेर्दै उभिइरहन्छिन्।

बस देखिन छोडेपछि घर फर्किने बिचारले उषा आफ्नो छोरालाई बोलाउँछिन्। कतैबाट जवाफ आउँदैन तर। यताउति हेर्छिन्, तर उज्ज्वलको अत्तोपत्तो छैन। अलि परतिर मानिसहरूको ठूलै हुल देख्छिन्, उज्ज्वल त्यही हुलतिर गयोहोला भन्ठानी त्यतैतिर लाग्छिन्। वरपरका मानिसहरूलाई सोध्दा थाहा हुन्छ, त्यहाँ त एक दुर्घटना भएको रहेछ। जसोतसो हुलको माझमा पुग्छिन् उषा। त्यहाँ बीचमा आफ्नो उज्ज्वललाई देख्छिन्, रगताम्य भएर लडिरहेको। उज्ज्वल उषा र रोशनको संसारदेखि टाढा गइसकेको थियो, कहिल्यै नफर्किने गरी।

पाण्डे सरले केबल एकचोटी सुनाएको कथा हो यो, तर मेरो मनमा किन हो सधैं ताजै रहन्छ, हिजो-अस्ति मात्रै सुनेको (पढेको) जस्तै! मलाई थाहा छैन यसको कथाकार को हो भनेर, यदि कसैलाई थाहा भए जरुर लेख्नुहोला प्रतिक्रियामा।