समर्पण र प्राप्ति

आज भ्यालेन्टाइन्स डे, आजको दिन यति आरामसाथ बित्ला भनेर चाँहि सोचेको थिइन। हुन त बिहानैदेखि काममा आएर पनि होला, बाहिरको हल्लाखल्लाको त्यति वास्ता भएन। काममा रुचि पनि अलि बढेकै छ पहिले भन्दा, बिनाकारण! अनि नेपालीमा लेख्ने खूब जाँगर चल्दैछ मलाई आजकल। नेपालीमा लेख्ने मात्रै होइन, राम्रा पुस्तक पढ्न नपाएको पनि वर्षौं भइसक्यो। त्यसैले पनि होला मलाई आजकल पहिले पढेका राम्रा पुस्तकहरूको सम्झना आइरहेको! हिजो विचार विज्ञानको बारेमा सोच्दैथिएँ, आज चाँहि मलाई साह्रै राम्रो लागेको अर्को एउटा नेपाली उपन्यासको उल्लेख गर्न मनलाग्यो यहाँ।

मैले मेरो मनपर्ने पुस्तकको सूचीमा जहिलेपनि एउटा नेपाली किताव राख्छु सबैभन्दा माथि – किताबको नाम हो समर्पण र प्राप्ति। त्यो किताब पनि मैले माध्यमिक विद्यालयमा हुँदा नै पढेको। पढेको धेरै भएकाले बिर्सिसकेँ कथाबस्तु चाँहि। त्यो उपन्यास मलाई एकदमै राम्रो लागेको थियो त्यतिबेला अनि मनपर्ने पुस्तकको सूचीमा राख्ने गरेको थिएँ विद्यालय जीवनदेखि नै। पछिपछि त बानी नै पर्न गयो – मनपर्ने पुस्तकको सूचीमा सबैभन्दा पहिले त्यही उपन्यासलाई नै राख्ने! एकदमै लामो छ उपन्यास – १००० पन्ना भन्दा पनि धेरै जस्तो लाग्छ मलाई, तर अहिले यकिनका साथ चाँहि भन्न सक्दिन। कथाबस्तुलाई ऐतिहाँसिक सन्दर्भमा राख्दा राणाकालीन कथाबस्तु जस्तो लाग्छ, तर पात्रहरू चाँहि समाजका हरेक वर्गबाट छन् क्यार त्यसमा। यदि म गलत रहेनछु भने त्यस उपन्यासको कथाबस्तुमा वाराणाशीमा त्यतिबेला (राणाकालमा) पढ्न जाने नेपालीहरूका कहानी पनि समाहित छन्। मलाई यो पुस्तक दोहोर्‍याएर पढ्न मन लागेको धेरै भैसकेको छ, तर कहिले के कारण त कहिले के कारणले गर्दा पाइएको छैन। नेपाली साहित्यमा रुचि राख्ने नेपालका ब्लगर साथीहरूले बजारमा उपलब्ध भए देखि पढ्न योग्य उपन्यास हो यो। मेरो माध्यमिक विद्यालयको विद्यार्थी जीवनका रोजाईहरूसँग तपाईंहरूका रोजाई नमिल्न सक्छ। तर म आफ्नो उमेरभन्दा माथिको विषयबस्तुमा लगाव राख्ने भएकाले अझै पनि यो उपन्यास रुचिपूर्ण नै हुन्छहोला जस्तो लाग्छ। यकिनका साथ त भन्न सक्दिन उपन्यासकारको नाम, तर देवीनाथ (वा देवनिधि) पौडेल (no relation!) हो जस्तो लाग्छ। कसैले यो पुस्तक हातपार्नु भयो भने जरुर बताउनुहोला। अनि “समर्पण र प्राप्ति”, शीर्षक नै भ्यालेन्टाइन्स डे मा सम्झनुपर्ने जस्तो छैन त? 🙂

यी सब कुराहरू म अफिसमै लेख्दैछु। हुन त अहिले ६ बज्न लागिसक्यो, मेरो प्रायजसोको अफिस समय भन्दा एक घण्टा ढिलो! तर मैले मेरो कम्प्यूटरमा भएका तस्वीरहरूलाई external hard disk मा backup गर्न लागेको सकिएएकै छैन। त्यो सकिएपछि घर जाउँला भनेर कुरिरहेको हो खासमा। ७ बज्छ जस्तो छ यो backupा सकिँदा, एकदमै ढिलो भईराखेको छ सबैकुरा आज। बिहान अफिस पनि दस बजेतिर मात्रै आईपुगेको! हुन त हिजो (खासमा आज!) राती सुत्दा तीन बजिसकेको थियो, तर पनि ६ बजे त बिउँझाई हाल्यो मेरो रेडियो अलार्म ले। बिहानको समाचार सुन्दै ८ बजेसम्म ओच्छ्यानमै बसेँ। त्यसपछि त अफिस आउन ढिला नहुने कुरै भएन।

राती ढिलो चाँहि कामले गर्दा भएको हैन – हिजो राती एउटा फ्रेन्च फिल्म हेर्दै थिएँ – Jeux d’enfants। यस फिल्मको अंग्रेजी शीर्षक चाँहि Love Me If You Dare राखिएको छ, फ्रेन्च शीर्षकको सीधा उल्था चाँहि होइन। रोमान्टिक फ्यान्टसी cum कमेडी भन्नुपर्ला यसलाई। हेर्न रमाईलो नै थियो अनि अरु धेरै फ्रेन्च फिल्महरू जस्तै अलि अनौठो पनि। फिल्मको मूख्य कथाबस्तु नै दुई साथीहरूको बच्चैदेखिको Truth or Dare खेल हो, जुन पछि बूढो हुन्जेलसम्म पनि चलिरहन्छ। कुनैकुनै बेला त एकदमै crazy हुन्छ त्यो खेल – जस्तै रेलको लिकमा आँखामा पट्टी लगाएर साथीलाई राख्दाको scene! अति नै राम्रो फिल्म त हैन यो, तर फ्रेन्च फिल्ममा रुची हुनेहरूलाई चाँहि मनपर्छ होला, हेर्दा पट्ट्यारलाग्दो भने छैन। मलाई चाँहि त्यस्तो लागेन जे भएपनि!

Now I’m back home trying to post what I wrote while at office! And here is the post summary – my recommended book on V-Day – “समर्पण र प्राप्ति”, and recommended film – “Love Me If You Dare” (Jeux d’enfants). Both worth exploring!