नाम-उपनाम

कहिलेकाँही नेपालीमा लेख्ने सुर चल्छ मलाई – आज सुर चलेको छ धेरैपछि। तर विषयबस्तु भने अग्रनिर्धारित हैन। खासमा मलाई आज अचानक मेरा विद्यालय जीवनका साथीहरू तथा ती वर्षहरुका याद अायो, अनि मेरा विद्यालयका कोही साथीहरू इन्टरनेटमा भेटिन्छन्‌कि भनेर गूगल गर्दा नेपाली साहित्यकारहरूको नामावली भएको पृष्ठमा पुगेँ। त्यहाँ भएका केही नामहरूका उपनाम देख्दा त्यस बारेमै केही लेखौँ जस्तो लागेर नेपालीमा कलम चलाउँदैछु टाइप गर्दैछु। उपनामहरूका बारेमा केही लेख्नुभन्दा पहिले मेरो गुगल-खोजीको परिणामका बारेमा भनिहालौं कि? मैले मेरो प्राथमिक विद्यालयको एक साथीको (एकदम मिल्ने साथीको) वेबसाइट भेट्टाएँ – मान्छु एकदम नसोचेको कुरा तर असम्भव के छ र यो दुनियाँमा। यहाँ छ मेरो साथीको वेबसाइट!!

अब अजब-गजबका उपनामका बारेमा केही भनौं। पहिले पहिले मलाई मान्छेका (विशेषत: साहित्यकारहरुका) उपनामहरू सुन्दा, अनि देख्दा लाग्थ्यो कि तिनीहरुले आफ्नो चरित्र अनुसारको वा अाफ्नो व्यक्तित्व झल्कने उपनाम राख्छन्। मेरो त्यो सिद्धान्त धेरै टिकेन – मेरो माध्यामीक विद्यालयमा एक अंग्रेजी पढाउने शिक्षक हुनुहुन्थ्यो, “अाँशु” उपनाम गरेका, तर मैले कहिल्यै उहाँका अाँखामा अाँशुका झल्का पनि देखिन। तर आफ्नो जन्मथलो झल्काउने उपनामहरू भने साँचोनै हुनुपर्छ – गयर-ओखलढुङ्गेले “ओखलढुङ्गे” उपनाम त पक्कै राख्दैन होला नि हैन त? तर “गाँउले” उपनाममा भने म विश्वास गर्दिन – सहरियाले (गाँउमा पाहिला नराखेकाले) पनि “गाँउले” उपनाम राखेको देखेको छु मैले। किन? म यसै भन्न सक्दिन – तर मेरो तर्क भने यस्तो छ – साधारणतया गाँउलेहरू भन्नासाथ हामी सोझा चरित्र, अनि सरल जीवन जिउने मान्छेका चित्रण गर्छौं, अनि “गाँउले” उपनाम राखेर अाफूलाई त्यही सरल, निष्कपट जीवन जिउने व्यक्तिहरूको दर्जामा राख्न चाहेका होलान् उनीहरूले!! “बसन्तपुरे” उपनामका बारेमा भने मलाई केही भन्नु छैन – सिबाय यति कि यो उपनाम पनि गयर-बसन्तपुरेहरुले पनि राख्ने गरेको जस्तो लाग्छ मलाई। तर मलाई थाहा नभएको बसन्तपुरबासी पनि हुन सक्छन् तिनीहरू।

अब लागौं सबैभन्दा बढी प्रचलित उपनाममा – “यात्री”। मलाई लाग्छ कि नेपालमा उपनाम भएका सबै मानिसहरूलाई भेला गरी सोध्ने हो भने, आधाका उपनाम “यात्री” हुनुपर्छ – अनि उनीहरूलाई त्यो उपनाम राख्नुको कारण सोध्नेहो भने नब्बे प्रतिशतले ‘जीवन भनेको एक यात्रा नै त हो नि, त्यसैले म “यात्री”‘ भनेनन् भने मलाई आश्चर्य लाग्नेछ। तर गजबका कुरा, “यात्री” उपनाम गरेकाहरू मध्य धेरै चाँहि खाली एक सीमित ठाउँमै अाफ्नो “जीवनको यात्रा” सकाउँछन् जस्तो लाग्छ मलाई – भौतिक रुपमा ठूला “यात्रा” नै नगरी।

“घायल” उपनाम देख्दा ती व्यक्तिलाई तिनका पहिलो प्रेमीले धोका दिएपछि मत्रै त्यो उपनाम राखेको होला भन्ने सोचाइ आउँछ ममा सबैभन्दा पहिले। अर्को तर्फ “दयालु” उपनाम देख्दा भने ‘ती प्रेमीले धोका दिए पनि म तिनलाई माफ गर्न सक्छु’ भन्ने देखाउन उपनाम “दयालु” राखेको होला भन्ने सोच्दछु। प्रेमी-प्रेमीकाको कुरा गर्दा “दिपशिखा” उपनाम हुनेहरूका पहिलो प्रेमीकाको नाम त्यहि हुनुपर्छ भन्ने ठान्दछु म!

“बेहोशी” उपनाम राख्नुका कारणहरू धेरै होलान् – मेरो पहिलो सिद्धान्त भने अाफूलाई “स्टेरियोटिपिकल” (माफ गर्नुस् मलाई यसको नेपाली शब्द थाहा भएन) लेखक (सधैं नशामा झुम्ने – बेहोशी तर एकदम राम्रो लेखक) ठान्नेहरूले यो उपनाम राख्छन् भन्ने हो। अर्कोतिर “निश्चल” उपनाम हुनेहरूसँग म अलि सजग नभई रहन सक्दिन – अाफूलाई आफैले निर्मल, निष्कपट भन्नेहरूको के भरोसा, हैन र? तर मलाई “असफल” उपनाम देख्दा भने “दयालु” भावना जाग्छ, एक साधारण “गाँउले” भएकाले होला! अब उ‍पनाम नै “असफल” राखेपछि पनि केहीमा सफलता मिल्ला त? कि असफलता सँग डराउँदिन भन्नलाई त्यो उपनाम राखेको हो। “असफल” उपनाम भए नि आफू सफल हुनुहुन्छ भने त ठीकै छ, हैन भने चाँहि कुनै अर्को उपनाम खोज्नु नै बेस होला – तर म चाहिँ कुनै सुझाव दिने अवस्थामा छैन किनकी अहिले म “असफल” उपनाम राम्रो कि “पागल” निर्क्योल गर्न सकिरहेको छैन।