2

मेरो यस ब्लगमा सन् २००६ देखिका लेखनहरू मात्र छन् । त्यसभन्दा पहिले मैले सन् २००२ देखि २००५ सम्म क्यानडामा बस्दा छद्मनाममा लेख्ने गरेको थिएँ ब्लगमा। ब्लगस्पटमा लेखिएका  ति लेखनहरू जस्ताका तस्तै त रहेनन् - तर आज कम्प्युटरमा पुराना लेखहरू खोज्नेक्रममा केही लेखनका खेस्राहरू एउटा रार (rar) फोल्डरमा फेला पारें । सबै त यस ब्लगमा राख्न उपयुक्त छैनन्, तर राख्न मिल्ने मध्यबाट चाँहि छानेर राख्ने निधो गरेको छु, लेखेको मिति सहित । नेपाली र अंग्रेजी दुवै भाषामा छन् त्यतिबेलाका मेरा लेखनहरू पनि, तर त्यतिबेला नेपालीमै बढि लेख्ने गर्थें जस्तो छ भेटिएका खेस्राहरू हेर्दा 🙂

तिनै खेस्राहरूबाट यो पहिलो टुक्रा, सत्य घटनामा आधारित काल्पनिक कथा 🙂

मिति: २६ जुलाई २००५

"आइ वाज बिजी - आइ फल इन लभ"
यसरी उसले जवाफ फर्काई जब क्षितिजले धेरै समयदेखि कता हरायौ भनी सोध्यो। अलिक नसोचेको जवाफ थियो यो तर उसलाई रमाइलो लाग्यो - कहिल्यै पनि आफ्ना साथीहरूबाट उसले यस किसिमको जवाफ पाएको थिएन। अनि 'सधैँ एक्लै भएँ यत्रो उमेरसम्म पनि' भन्दै गनगन गरिरहने साथीले अचानक मायामा फसेँ भन्दा उसलाई साह्रै खुशी लाग्यो।

साथीलाई बधाई दिँदै उसले भन्यो - "निकै मस्ति छ जस्तो छ तिमीलाई, प्रेममा ब्यस्त हुन पाउँदा!"
उसले भनी - "प्रेमले जीवनलाई रोमान्चक त बनाउँदो रहेछ, तर साह्रै जन्जालपूर्ण पनि।"

क्षितिजले केही प्रतिक्रिया दिन चाहेन उसको त्यो भनाइमा, कारण उसले भोगिसकेको थियो प्रेमको रोमान्चकता, जन्जालपूर्णता अनि विछोडको बेदना पनि। तरपनि साथीको भनाइलाई वास्ता नगरेको जस्तो देखाउन चाहेन र सोधिहाल्यो किन त्यस्तो जन्जालपूर्ण भयो प्रेम भनी। कुरा साथीको प्रेमी अर्कै देशको रहेछ, विश्वविद्यालयमा सँगै पढ्दा रहेछन् दुवैजना, अनि अहिले पढाई सकिने बेलामा बल्ल एक अर्कामा दुई बर्षदेखि पलाएको प्रेमको भावना साटेका रहेछन्। एक महिना जतिमा त दुवै आ-आफ्ना बाटो लाग्ने।

क्षितिजले भन्यो - "किन लग्दैनौ तिम्रो प्रेमीलाई तिमीसँगै आफ्नो देश? अथवा तिमी उसँगै उसको देश जान पनि त सक्छौ नि"
उसले भनी - "मेरो प्रेमी आफ्नै देश फर्किन चाहन्छ पढाई सकेपछि। त्यहाँ गएर गैसस खोली जनताको सेवा गर्ने विचार छ उसको"

"त्यसो भए तिमी उसँग जाऊ, जागिर पाइन भनेर गुनासो गर्थ्यौ अब आफ्नै प्रेमीको गैससमा काम पाउँछौ।" क्षितिजका यी कुरा सुनी उसले ऊ अहिल्यै आफ्नो प्रेमीको विकासोन्ममूख देश, जुनचाँहि त्यो क्षेत्रको सबैभन्दा गरीब देशमा गनिन्छ, मा जान तयार छैन भनेर प्रष्ट्याई।

उसले सोच्यो हुनपनि संसारको सबैभन्दा धनी देशमध्यमा गनिने देशकी उसकी साथी सबैभन्दा गरीब देशमध्यको एकमा जान के तयार हुन्थी र, जतिसुकै गाढा मायामा फसेकी भएपनि। आखिर हामी अहिले यति बास्तुपरक जीवन जिउँछौँ, सानो कुराको अभावले त हामीलाई अत्याउँछ भने उसको साथी र साथीको प्रेमीको देशको जनजीवनमा त आकाश-जमीनको फरक छ। माया-प्रेमले जात, रंग, धर्म आदि केहीलाई पनि छुट्याउँदैन भन्छन्, अनि त्यो कुरा साँचो पनि होला धेरै हदसम्म। उसकै साथीको हदमा पनि साँचो देखियो माया-प्रेमले छालाको रंग नदेखेको। तर अहिलेको युगमा ती पूराना वर्गीकरणहरू भन्दा पनि ठूलो वर्गीकरण त धनी र गरीब बीच पो छ। गरीबको जीवनलाई टाढाबाट हेर्ने अनि उनीहरूको दुख, परिश्रमको गुणगान गाउने, प्रसंशा गर्ने त धेरै भेटिन्छन् तर उनीहरूकै जस्तो जीवन जिउने हिम्मत गर्ने भेट्न मुश्किल नै पर्छ। आखिर आफ्नो भौतिक सुखले भरिपूर्ण जीवन कसले त्यति सहजै त्याग्न सक्छ र?

यी सबै कुरा क्षितिजले मनमै राख्यो - आफ्नी मिल्ने साथीको मायामा खोट लगाउन चाहेन उसले। बरू उसको अवस्थाप्रति सहानुभूति जनायो, अनि उसको सुखद भविष्यको कामना गर्दै बिदा लियो।

एम पी 'क्षितिज'

भ्यानकुभर, क्यानडा

Stupid: I've never had any luck. Whatever I've tried fails. Not that I haven't tried hard enough either. Things seem to be working at first but at the end they all go down the drain.

Luck: They say you make your own luck.

Stupid: In my case, I know I've just been unlucky. Look at you, you've always been lucky, not that you don't work hard, but generally you have more luck. You seem to get things without even trying hard!

Luck: [thinks] Have you ever considered you've been stupid all these years, and made many stupid decisions? [/thinks]